चेतना संरक्षण प्रतिष्ठान नेपालले प्रतियोगितात्मक चित्रकला कार्यशाला एवम प्रर्दशनीको आयोजना गरेको छ ।
प्रतिष्ठानले कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा सामुदायिक विद्यालस्तरीय प्रतियोगितात्मक चित्रकला कार्यशालाको आयोजना गरेको हो । जेठ ३१ गते आयोजना गरिएको प्रतियोगितात्मक कार्यशालामा विराटनगरका १० सामुदायिक विद्यालयका २० जना विद्यार्थीले सहभागिता जनाएका छन ।
प्रतियोगिता निम्न माध्यमिक तथा माध्यमिकस्तरिय दुई समुहमा आयोजना गरिएको थियो । सो क्रममा कक्षा १ देखी ५ सम्मका १ जना र कक्षा ६ देखी १० सम्मका १ गरि प्रत्येक विद्यालयबाट २ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा विराटनगरको आदर्श माध्यमिक विद्यालय,पोखरिया मावि,मिल्स मावि,गोग्राहा मावि,पाणिनी संस्कृत मावि र राधाकृष्ण भुपालमान सिह माध्यमिक विद्यालयले सहभागिता जनाएको थियो । यस्तै सरस्वती माध्यमिक विद्यालय,जनपथ मावि,जनता मावि र सत्यनारायण माध्यमिक विद्यालयले समेत सहभागिता जनाएको आयोजक संस्थाका महासचिव उमेश दाहालले जानकारी दिनुभयो ।
प्रतियोगितामा मावितर्फ जनपथ मावि कक्षा १० की विद्यार्थी काजल देव प्रथम,सत्यनारायण माध्यमिक विद्यालय कक्षा ९ की विद्यार्थी स्विकृति रौनियार दोश्रो र आदर्श उच्च माध्यमिक विद्यालय कक्षा ९ की छात्रा भुमिशिखा ढकाल तेश्रो भएकी छिन । यस्तै मावि तर्फ सरस्वती माध्यमिक विद्यालय कक्षा १० की छात्रा मुस्कान कामतले सान्त्वना स्थान हासिल गरेकी छिन ।
प्रावि तर्फ आदर्श उच्च माध्यमिक विद्यालय कक्षा ५ की विद्यार्थी आश्मा सापकोटा प्रथम,सत्यनारायण मावि कक्षा ५ की दिपीका साह दोश्रो र जनपथ मावि कक्षा ४ की विद्यार्थी ईशिता राजवंशीले तेश्रो स्थान हासिल गरेकी छिन । प्रावि तर्फ जनता नमुना माध्यमिक विद्यालय कक्षा ५ की निशा शर्माले सान्तवना स्थान हासिल गरेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताका विजयी मध्ये प्रथम,दोश्रो र तेश्रो हुनेलाई क्रमश ३ हजार १ सय,२ हजार १ सय र १ हजार १ सय पुरस्कार राशि र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै सान्त्वना स्थान हासिल गर्ने २ विद्यालयलाई ५ सय नगदसहितको सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । विजयीहरुलाई कोशी प्रदेश सभा सदस्य भीम पराजुली र आयोजक संस्थाका अध्यक्ष प्राज्ञ गंगा सुवेदीले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगिताको निर्णायकमा ललित कला संगम पुर्वाञ्चलका अध्यक्ष जेपी चौधरी र सुनसरीका बरिष्ठ कलाकार प्रमोद दत्त रहनुभएको थियो ।